बाढीको विपत्तिमा सरकारको पहिलो प्राथमिकता उद्धार : मन्त्री खनाल


काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीपछि सरकारको पहिलो प्राथमिकता जीवन रक्षा र बेपत्ताको खोजी रहेको बताएका छन्।

पत्रकार सम्मेलनमार्फत उनले हालसम्म ४ हजार ४५१ जनाको उद्धार र ६२६ शव बरामद भएको जानकारी दिए। उद्धार गरिएकामध्ये १८७ जना विदेशी नागरिक छन्।

बाढीपछि करिब २ हजार ४०० जना अझै बेपत्ता रहेको भन्दै रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रमा खोजी तथा उद्धार जारी रहेको मन्त्री खनालले बताए।

सुरुङमा थुनिएकाको उद्धारका लागि भारतबाट ११ सदस्यीय विशेषज्ञ टोली परिचालन भइसकेको र चीनबाट पनि विशेष टोली आउँदै गरेको उनले जानकारी दिए।

भारत, चीन, जापान र अस्ट्रेलियालगायत देशबाट राहत तथा प्राविधिक सहयोग प्राप्त भइरहेको भन्दै खनालले नेपालले अन्तर्राष्ट्रिय सहायता अस्वीकार गरेको भन्ने समाचार गलत भएको स्पष्ट पारे।