काठमाडौँ । धादिङको कृष्णभीरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। त्रिशूली नदीले सडक कटान गरेपछि कृष्णभीर क्षेत्रमा पहिरो जाँदा राजमार्गको दुवैतर्फको यातायात ठप्प भएको हो।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार राजमार्ग अवरुद्ध भएपछि पृथ्वी राजमार्ग हुँदै विभिन्न गन्तव्यतर्फ जाने सवारीसाधन काठमाडौँमै रोकिएका छन्। कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले पहिरोका कारण यातायात सञ्चालन प्रभावित भएको जानकारी दिए।
काठमाडौँको नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लका अनुसार पृथ्वी राजमार्ग हुँदै सञ्चालन हुने सवारीसाधन नयाँबसपार्कमै रोकिएका छन्।
लगातारको वर्षाका कारण रसुवालगायत विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा समेत बाढीपहिरोले यातायात प्रभावित भएको छ।
प्रहरीले सडकमा जुनसुकै बेला अवरोध आउन सक्ने भन्दै यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ।





















प्रतिक्रिया