उद्धार र राहतका लागि भारतले नेपाल पठायो विशेषज्ञ टोली र अत्याधुनिक उपकरण


काठमाडौँ । बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि भारतले नेपालमा उद्धार तथा राहतका लागि अत्याधुनिक उपकरणसहित विशेषज्ञ टोली पठाएको छ।

भारतका विदेशमन्त्री एस. जयशंकरका अनुसार सुरुङमा बेपत्ता भएकाको खोज तथा उद्धारका लागि ‘टनेल टेक्निकल कन्टिन्जेन्ट’ टोली पठाइएको छ। शव पहिचानका लागि डीएनए विश्लेषण गर्ने फोरेन्सिक विशेषज्ञ टोली र आवश्यक उपकरणसमेत नेपाल पठाइएको छ।

यस्तै, बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा पुल पुनः सञ्चालनका लागि २३० फिट लामो ‘मोडुलर स्टिल ब्रिज’ बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्। थप सात वटा बेली ब्रिज स्थापनाका लागि आवश्यक उपकरणसमेत पठाउने तयारी भारतले गरेको छ।