हेलिकप्टरबाट रसुवाका बाढीपीडितलाई खाद्यान्न वितरण


रसुवा । भोटेकोशी बाढीले सडक तथा पुल बगाएपछि सरकारले रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत अत्यावश्यक खाद्य सामग्री पठाउन सुरु गरेको छ ।

बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल दाल, चामल, नुन, तेललगायत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

खैबी, डाँडागाउँ, हाकु, ठूलोगाउँ, शेर्पागाउँ र खाम्जिङलगायत क्षेत्रमा आवश्यकताका आधारमा थप राहत सामग्री पठाइने सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

राहत वितरणमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रशासनले हल्लाको पछि नलाग्न र सही सूचनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्न आग्रह गरेको छ।