बाढीपीडितको कल्याणका लागि पशुपतिमा महारुद्री, गुह्येश्वरीमा चण्डीपाठ


काठमाडौँ । बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावितको कल्याणको कामनासहित पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म महारुद्री, अभिषेक, हवन, क्षमापूजा तथा शान्तिपाठ गरिनेछ । गुह्येश्वरी मन्दिरमा पनि चण्डीपाठ तथा पूजा गरिनेछ ।

राष्ट्रदेव पशुपतिनाथमा १२१ जना ब्राह्मणद्वारा महारुद्री, अभिषेक, हवन तथा पूजा गरिनेछ भने गुह्येश्वरीमा नौ जना ब्राह्मणले चण्डीपाठ गर्नेछन् ।पूजामार्फत बाढीपीडितको जनजीवन शीघ्र सामान्य होस्, घाइतेको स्वास्थ्यलाभ तथा बेपत्ताको सकुशल उद्धारको कामना गरिने कोषले जनाएको छ।