बाढीपहिरो पीडितका लागि सन्दीप लामिछानेको सहयोग घोषणा


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीबाट प्रभावित नागरिकका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

मलेसियामा एसीसी प्रिमियर कप खेलिरहेका सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट पाउने १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफू प्रतियोगिताका लागि विदेशमा रहे पनि मन भने नेपालमै रहेको भन्दै बाढीपीडितप्रति सहानुभूति व्यक्त गरेका छन् ।

सन्दीपले प्रतियोगितामा नेपालले लिने हरेक विकेट तथा प्रहार गर्ने चौका–छक्काबापत १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाको शैक्षिक सामग्रीका लागि सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

यसअघि क्यानले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेको छ ।