बाढीपीडितको राहतमा नाइमा अटोमोबाइल एसोसिएसनले ५० लाख सहयोग


काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

नाइमा जारी विज्ञप्तिअनुसार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति संस्थाले दुःख व्यक्त गरेको छ।

नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा रहेका परिवारप्रति समवेदना व्यक्त गरेकी छन्। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी छन्।

अध्यक्ष वैद्यले विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको समेत जिम्मेवारी भएको बताएकी छन्। सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यबाट मात्रै राहत तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।