काठमाडौँ । रसुवा बाढीपछि पहिचान हुन नसकेका शव गाड्ने सरकारी निर्णयप्रति प्रश्न उठेको छ । आफन्तको खोजी तथा उद्धार प्रक्रिया पूरा नहुँदै शव व्यवस्थापन गर्न लागिएको भन्दै पीडित परिवारले असन्तुष्टि जनाएका छन् ।
संशोधित निर्देशिकाअनुसार विपद्मा फेला परेका पहिचान नभएका शवको डीएनएलगायत आवश्यक नमुना संकलन गरी सुरक्षित राखेर तोकिएको स्थानमा अस्थायी रूपमा गाड्न सकिने व्यवस्था छ । पछि हकवाला पहिचान भएर दाबी गरेमा शव वा शरीरका अंग हस्तान्तरण गर्नुपर्ने प्रावधान छ ।
नेपाल प्रहरीका अनुसार हालसम्म ७३४ शव फेला परेका छन्, जसमध्ये २९ जनाको मात्र पहिचान भएको छ । पहिचान नभएका शवमध्ये पूर्वी नवलपरासीमा १००, चितवनमा ९६ र गोरखामा २९ वटा शव गाडिएको प्रहरीले जनाएको छ ।

विज्ञहरूले पर्याप्त शवगृह नभएको अवस्थामा शवको विवरण, फोटो र डीएनए नमुना सुरक्षित राखेर अस्थायी दफन गर्न सकिने बताएका छन् । तर, परिवारलाई जानकारी र परामर्श दिँदै धार्मिक तथा सांस्कृतिक संवेदनशीलता कायम गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
सरकारले भने पहिचान नभएका शवलाई नष्ट नभई डीएनए तथा अन्य पहिचानका आधार सुरक्षित राखेर व्यवस्थित रूपमा गाडिएको स्पष्ट पारेको छ । पहिचान खुलेपछि परिवारलाई शव जिम्मा लगाउने व्यवस्था रहेको सरकारको भनाइ छ।






















प्रतिक्रिया