हिमपहिरोले निम्त्यायो रसुवाको विनाशकारी बाढी : जलवायु विज्ञ


काठमाडौँ । जलवायु विज्ञ डा. सुदीप ठकुरीले रसुवामा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरो भएको बताएका छन् । उच्च हिमाली क्षेत्रमा बरफका ठूला ढिस्का खस्दा नदीमा एक्कासि पानीको बहाव बढेको र त्यसकै प्रभावले तलतिर ठूलो बाढी आएको उनको भनाइ छ ।

ठकुरीका अनुसार हिमाली क्षेत्रमा रहेको ठूलो परिमाणको बरफ तथा हिमपिण्ड खसेपछि त्यसले नदीको बहावमा अचानक वृद्धि गराउँछ । सामान्य अवस्थामा बिस्तारै बग्ने नदीमा एकैपटक ठूलो मात्रा पानी र बरफ मिसिँदा बहाव तीव्र बन्ने र त्यसले नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याउन सक्ने उनले बताए ।

उनका अनुसार हिमपहिरोसँगै माथिल्लो क्षेत्रमा रहेका ढुंगा, माटो, बालुवा तथा अन्य गेग्रान पनि नदीमा मिसिँदा बाढी थप विनाशकारी बन्न पुगेको हो । पानीसँगै ठूलो मात्रामा लेदो र गेग्रान तलतिर बग्दा नदीको बहाव र कटानको क्षमता बढेको उनले बताए ।

ठकुरीले हिमाली क्षेत्रमा यस्ता प्राकृतिक घटना हुने सम्भावना बढ्दै गएको भन्दै जोखिमयुक्त क्षेत्रको नियमित अनुगमन र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । विशेषगरी हिमताल, हिमनदी र उच्च हिमाली क्षेत्रमा जमेको बरफको अवस्थाबारे निरन्तर निगरानी आवश्यक रहेको उनको भनाइ छ ।

उनका अनुसार हिमाली क्षेत्रमा तापक्रम वृद्धि तथा वातावरणीय परिवर्तनका कारण बरफ पग्लिने र हिमताल तथा हिमनदीको संरचनामा परिवर्तन आउने क्रम बढिरहेको छ । यस्तो अवस्थामा हिमपहिरो वा अन्य हिमाली विपद्को जोखिमबारे वैज्ञानिक अध्ययन र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । बाढीका कारण नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत आयोजनामा क्षति पुगेको छ भने ठूलो संख्यामा मानिस सम्पर्कविहीन तथा विस्थापित भएका छन् ।

ठकुरीले विपद् भइसकेपछि उद्धार र राहतमा मात्र केन्द्रित हुनुभन्दा जोखिमको पूर्वानुमान, निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउनुपर्ने बताएका छन् । हिमाली क्षेत्रमा सम्भावित हिमपहिरो र हिमताल विस्फोटको जोखिम पहिचान गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समयमै सूचना दिन सके मानवीय क्षति कम गर्न सकिने उनको सुझाव छ ।