काठमाडौं । आफूसँग भएको स्रोतसाधन अरूको दुःखमा खर्च गर्न सक्नु नै मानवताको ठूलो परिचय हो। विपत्तिमा परेका नागरिकको पीडामा साथ दिँदै आएका फिटवेल गार्मेन्ट उद्योग प्रा.लि.का सञ्चालक मनोज भारतीले फेरि एकपटक आफ्नो सामाजिक उत्तरदायित्व प्रस्तुत गरेका छन्।
देश प्राकृतिक विपत्तिको चपेटामा परिरहेका बेला भारतीले बाढी तथा पहिरो प्रभावित नागरिकका लागि लाखौँ रुपैयाँ बराबरको लत्ताकपडा, जुत्तालगायतका राहत सामग्री उपलब्ध गराएका छन्।
फिटवेल गार्मेन्ट उद्योग प्रा.लि. र खराउ सुज इन्डष्ट्रिज प्रा.लि.बाट उत्पादित ट्र्याकसुट, गेम ड्रेस, स्पोर्ट जुत्ता, टी–सर्ट, ट्राउजर, विन्डसिटरलगायतका सामग्री काठमाडौंको सामाखुसीस्थित विपद् व्यवस्थापन कार्यालयमा हस्तान्तरण गरिएको हो।
उद्योगका सञ्चालक मनोज भारतीले कार्यालयमै पुगेर गृह मन्त्रीका स्वकीय सचिव जेन्स कार्कीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सामग्री रसुवाका बाढी तथा पहिरो प्रभावित परिवारसम्म पुर्याउने उद्देश्य राखिएको छ।
भारतीले विपत्तिका बेला सहयोग गरेको यो पहिलोपटक भने होइन। कोभिड–१९ महामारीदेखि विनाशकारी भूकम्पसम्मका संकटका समयमा समेत उनले व्यक्तिगत तथा व्यावसायिक स्रोतबाट पीडित नागरिकलाई सहयोग गर्दै आएका छन्।
उनका लागि सामाजिक सहयोग केवल औपचारिकता नभई मानवीय दायित्व बनेको छ। आफ्नो आम्दानीको महत्वपूर्ण हिस्सा सामाजिक सेवामा खर्च गर्दै आएका भारती संकटका बेला पीडितको घरदैलोमा पुगेर सहयोग गर्ने अभियानमा निरन्तर सक्रिय देखिन्छन्।

अहिले बाढी तथा पहिरोका कारण सयौँ परिवार प्रभावित छन्। कतिपयले आफन्त गुमाएका छन् भने कतिपय घरबारविहीन बनेर राहतको प्रतीक्षामा छन्। यस्तो अवस्थामा कपडा, जुत्तालगायतका आधारभूत सामग्रीको आवश्यकता झन् बढेको छ। यही आवश्यकतालाई महसुस गर्दै भारतीले आफ्नो उद्योगबाट उत्पादित सामग्री पीडितसम्म पुर्याउने पहल गरेका हुन्।
उनको यो सहयोगले विपत्तिमा परेका नागरिकलाई तत्काल राहत पुर्याउनुका साथै समाजमा मानवीय भावना अझै जीवित रहेको सन्देशसमेत दिएको छ।
व्यवसायबाट सम्पत्ति आर्जन गर्नु सफलता हुन सक्छ, तर आफूले कमाएको सम्पत्तिबाट अरूको आँसु पुछ्न सक्नु सामाजिक सफलताको अर्को महत्वपूर्ण रूप हो। भारतीको पछिल्लो सहयोगले उद्योगी तथा व्यवसायीहरूले आफ्नो व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्नुपर्ने सन्देश दिएको छ।
विपत्तिको समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पीडितको पक्षमा उभिएको भारतीको यो कदम मानवताको एउटा उदाहरण बनेको छ।





















प्रतिक्रिया