छेकम्पारमा पहिरोले बुढीगण्डकी थुनियो, सतर्कता अपनाउन आग्रह


काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित सियारखोलामा सुख्खा पहिरो खस्दा बुढीगण्डकी नदी आंशिक रूपमा थुनिएको छ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार सोमबार बिहान सियारखोलामा ठूलो पहिरो खसेपछि नदीको बहाव प्रभावित भएको हो। पहिरो खसेर नदीमा माटो तथा ढुंगामाटो थुप्रिएपछि केही समय पानीको बहावमा अवरोध सिर्जना भएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बुढीगण्डकीको पानी पूर्ण रूपमा नथुनिएको र अवरोधबाटै पानीको निकास भइरहेको जानकारी दिए। उनका अनुसार नदीमा पानीको बहाव क्रमशः जारी रहेकाले तत्काल ठूलो जोखिमको अवस्था नरहेको बताइएको छ।

पहिरोका कारण नदीको बहावमा थप असर पर्न सक्ने भएकाले स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।