कान्ति राजमार्गमा बढ्यो सवारी चाप, चालकलाई सतर्क रहन आग्रह


काठमाडौँ । पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड बाढीपहिरोका कारण अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी चाप अत्यधिक बढेको छ।

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडा–काठमाडौँ आवतजावत गर्ने साना तथा मझौला सवारीसाधन कान्ति राजमार्गतर्फ मोडिएका छन्। सडकमा सवारीको लामो लस्कर देखिए पनि यातायात सञ्चालनमा रहेको सडक योजनाले जनाएको छ।

सडक विभागले कान्ति राजमार्गसँगै त्रिभुवन राजपथ, बीपी राजमार्ग र हेटौँडा–कुलेखानी–फर्पिङ मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

वैकल्पिक सडकमा सवारी चाप बढेकाले चालकलाई संयमित र सावधानीपूर्वक सवारी चलाउन तथा यात्रा अघि सडक र ट्राफिक अवस्थाबारे जानकारी लिन विभागले अनुरोध गरेको छ।