मुग्लिन–काठमाडौँ सडक तत्काल सञ्चालन नहुने


काठमाडौँ । कृष्णभीरमा ठूलो पहिरो गएपछि अवरुद्ध बनेको मुग्लिन–काठमाडौँ सडक तत्काल सञ्चालनमा नआउने भएको छ।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरो नदीको सतहदेखि नै गएकाले स्थायी रूपमा मर्मत तथा पुनर्निर्माण गर्न लामो समय लाग्नेछ। दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालन हुने सम्भावना नरहेको उनले बताए।

स्थायी समाधानका लागि अध्ययन, डिजाइन र टेन्डर प्रक्रिया पूरा गर्नुपर्ने भएकाले करिब एक वर्षसम्म लाग्न सक्ने उनको भनाइ छ।

सडक बन्द भएपछि यात्रु तथा सवारी आवागमन सहज बनाउन विभिन्न वैकल्पिक मार्गको प्राविधिक निरीक्षण भइरहेको छ। टोलीको अध्ययनपछि छोटो र उपयुक्त वैकल्पिक मार्ग सञ्चालनमा ल्याइने योजना छ।