ताल फुट्ने जोखिमपछि चीनमा उद्धार अभियान स्थगित


काठमाडौं । चीनको मौसम विज्ञान प्रशासनले जिरोङ क्षेत्रमा सोमबार थप वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।

प्रशासनका अनुसार दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुनसक्छ। वर्षाका कारण जिरोङ बन्दरगाहतर्फ जाने सडक चिप्लो हुने र तापक्रम करिब ८ डिग्री सेल्सियससम्म झर्न सक्ने चेतावनी दिइएको छ।

निरन्तर वर्षाले पहिरोपछि बनेको ब्यारियर लेकमा पानीको सतह बढ्न सक्ने र पानी बाहिरिए थप विपद् निम्तिन सक्ने जोखिम रहेको जनाइएको छ। यही जोखिमका कारण चीनले यसअघि केही समय उद्धार अभियानसमेत स्थगित गरेको थियो।

जिरोङ बन्दरगाह क्षेत्र पहिरो र बाढीबाट प्रभावित भएकाले थप वर्षाले उद्धार तथा राहतमा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।