सडकमा महिलालाई दुर्व्यवहार गरेको आरोपमा ३ जना पक्राउ


काठमाडौँ । कीर्तिपुरको भङ्गाल क्षेत्रमा सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बझाङका २२ वर्षीय सत्यराज खत्री तथा कञ्चनपुरका २२ वर्षीय ललित दमाई र २१ वर्षीय अशोक भण्डारी छन्।

प्रहरीका अनुसार उनीहरूले भदौ १२ गते साँझ एउटै मोटरसाइकलमा सवार भएर महिलालाई पछ्याउँदै फोन नम्बर माग्ने र अश्लील शब्द प्रयोग गर्ने गरेका थिए। पीडित महिलाले घटनाको भिडियो सामाजिक सञ्जालमा राखेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

उनीहरूलाई आइतबार कीर्तिपुरस्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। थप अनुसन्धान भइरहेको छ।