विपद्का कामकारबाहीबारे जनतालाई जानकारी दिन संसद् बोलाउन कांग्रेसको निष्कर्ष


काठमाडौँ । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी गतिविधिबारे जनतालाई जानकारी गराउन संसद् बैठक तत्काल बोलाउन माग गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिट्टै छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्। उनले बाढी–पहिरो प्रभावित क्षेत्रमा बेपत्ताका विषय संसद्मा उठाउन र समाधान खोज्न सदन सञ्चालन आवश्यक रहेको बताइन्।

बैठकले राहतका लागि कांग्रेसका सबै सांसदले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ।

कांग्रेसले राहत वितरण प्रभावकारी नभएको, स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको र शव व्यवस्थापनमा आवश्यक उपकरण अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। साथै, प्रभावित क्षेत्रमा अत्यावश्यक पूर्वाधार तत्काल पुनर्निर्माण गर्न सरकारसँग आग्रह गरेको छ।