भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता


काठमाडौँ । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा व्यवस्थापनबारे प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

सोमबार सिंहदरबारमा भएको भेटमा बाढी प्रभावित क्षेत्रमा देखिएका समस्या र तत्काल गर्नुपर्ने उद्धार तथा राहतबारे छलफल भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

लामिछानेले यसअघि प्रभावित पालिका प्रमुख, बागमती प्रदेशका मुख्यमन्त्री तथा पार्टीको राहत संयन्त्रबाट बाढी आएको ६ दिन बितिसक्दा पनि उद्धार र राहत प्रभावकारी हुन नसकेको अवस्थाबारे जानकारी लिएका थिए।

प्रभावित क्षेत्रको अवस्थाबारे प्राप्त जानकारी प्रधानमन्त्रीसमक्ष राख्दै लामिछानेले उद्धार, राहत र पुनःस्थापनामा सरकारसँग समन्वय गरेर पहल गर्ने प्रतिबद्धता जनाएका छन्।