बाढीपहिरोबारे छलफल गर्न संसद् बोलाउन कांग्रेसको माग


काठमाडौँ । नेपाली कांग्रेसले बाढीपहिरो र डुबानबाट सिर्जित राष्ट्रिय संकटबारे छलफल गर्न संसद् तत्काल सुचारु गर्न माग गरेको छ।

सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउँदै संसद् बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको हो। प्रमुख सचेतक वासना थापाले सभामुखसँग मंगलबार भेटेर यसबारे आग्रह गर्ने जानकारी दिइन्।

थापाले प्राकृतिक विपत्तिका बेला जनताका समस्या सरकारसम्म पुर्‍याउन संसद् बन्द गर्न नहुने बताइन्। उनले लामो बैठक सम्भव नभए पनि आकस्मिक र शून्य समय सञ्चालन गर्नुपर्ने माग राखेकी छन्।

बाढीपहिरो प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारलाई संसद्मार्फत जवाफदेही बनाउने कांग्रेसको तयारी छ।