डा. अबुल हुसेन अन्सारीद्वारा बाढीपीडितका लागि ५ लाख १ हजार सहयोग


काठमाडौं । समाजसेवी तथा युवा नेता डा. अबुल हुसेन अन्सारीले भोटेकोशी–रसुवा बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन्।

विपद्को यस कठिन घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा उपचारलाई प्राथमिकतामा राख्दै डा. अन्सारीले आर्थिक सहयोगसँगै स्वास्थ्य सामग्री तथा औषधि व्यवस्थापनमा समेत सक्रियता देखाएका छन्।

उनको संयोजकत्वमा करोडौँ रुपैयाँ बराबरका अत्यावश्यक मेडिकल सामग्री तथा औषधि जुटाइएको छ। संकलित सामग्रीको ठूलो खेप आज साँझ बाढी प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरिएको छ।

यसअघि पनि डा. अन्सारीले लाखौँ रुपैयाँ बराबरका औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइसकेका छन्। पछिल्लो विपद्मा उपचार अभाव हुन नदिन उनले थप औषधि तथा मेडिकल सामग्री जुटाउने अभियानलाई निरन्तरता दिएका हुन्।

बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा अहिले प्रभावित क्षेत्रमा उद्धार, राहत र स्वास्थ्य उपचारका लागि औषधि तथा मेडिकल सामग्रीको तत्काल आवश्यकता रहेको छ। यस्तो अवस्थामा डा. अन्सारीको पहलले प्रभावित नागरिकलाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा गरिएको छ।

विपद्को समयमा व्यक्तिगत पहलबाट ठूलो परिमाणमा राहत तथा स्वास्थ्य सामग्री जुटाउँदै सहयोग गरेको भन्दै डा. अन्सारीको यो कार्यलाई मानवीय सेवाको उदाहरणका रूपमा लिइएको छ।