रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार गरिएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा फसेका उनीहरूलाई उद्धार गरी सदरमुकाम धुन्चे ल्याइएको थियो। धुन्चेमा आवश्यक समन्वयपछि परिवारलाई थप उपचार तथा सुरक्षित व्यवस्थापनका लागि काठमाडौँ पठाइएको जनाइएको छ।

भोटेकोशी बाढीपछि रसुवाका विभिन्न प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिइएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन भएका छन्।

उद्धार तथा खोजी कार्यमा सहयोग पुर्याउन भारत, चीन र दक्षिण कोरियाबाट आएका विशेषज्ञ टोलीसमेत प्रभावित क्षेत्रमा खटिएका छन्। टोलीहरूले जोखिमपूर्ण क्षेत्रमा फसेका नागरिकको उद्धारसँगै बेपत्ताको खोजी तथा प्रभावित क्षेत्रको अवस्थाबारे आवश्यक समन्वय गरिरहेका छन्।

बाढीका कारण सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेकाले प्रभावित क्षेत्रमा उद्धार र राहत पुर्याउन चुनौती देखिएको छ। सुरक्षा निकाय तथा विदेशी विशेषज्ञ टोलीले जोखिमको अवस्था मूल्याङ्कन गर्दै उद्धार कार्यलाई निरन्तरता दिइरहेका छन्।























प्रतिक्रिया