काठमाडौँ । परराष्ट्र मन्त्रालयले बाढी तथा विपद् व्यवस्थापनका लागि भारत, चीन र कोरियाबाट खोज तथा उद्धार र डीएनए पहिचानसम्बन्धी अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार भारतको २४ सदस्यीय टनेल उद्धार टोली चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा तथा चीनको ९ सदस्यीय टोली माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा परिचालन गरिएको छ ।
त्यस्तै, कोरियाको उद्धार टोली पनि नेपाल आइपुगेको छ । भारतबाट आएको १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली कार्यक्षेत्रमा खटिएको छ भने चीनबाट फरेन्सिक टोली र सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।
पहिचान हुन नसकेका शवको डीएनए नमुना सुरक्षित राखी अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता पौडेलले विपद्बाट भएको क्षतिको मूल्याङ्कन गरी विपद्पछिको आवश्यकता मूल्याङ्कन (PDNA) तयार गरेर दीर्घकालीन अन्तर्राष्ट्रिय सहयोगका लागि आह्वान गरिने बताए ।





















प्रतिक्रिया