गौरा पर्वको दोस्रो दिन आज ‘न्वालाको गौरा’ मनाइँदै


कञ्चनपुर । गौरा पर्वको दोस्रो दिन आज बिरुडा धोएर न्वालाको गौरा मनाइँदैछ। मङ्गलबारदेखि विधिवत् सुरु भएको पर्वअन्तर्गत व्रतालु महिलाले पवित्र धारा, मुहान वा न्वालोमा लगेर भिजाएका पाँच प्रकारका अन्न (बिरुडा) सामूहिक रूपमा धुने चलन छ।

गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार पहिलो दिन तामाको भाँडामा मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा तयार गरिन्छ। दोस्रो दिन धोइएको यही बिरुडा सप्तमीमा गौरा भित्र्याउँदा प्रसादका रूपमा चढाइन्छ।

गौरा पर्वमा महिलाहरूले परिवारको सुख, शान्ति, समृद्धि तथा श्रीमान्को दीर्घायु र स्वास्थ्यको कामना गर्दै व्रत बस्ने गर्छन्। सप्तमीमा गौरा भित्र्याइन्छ भने अष्टमीका दिन पूजा, मङ्गलगान, देउडा तथा विभिन्न सांस्कृतिक कार्यक्रम गरिन्छ।

सुदूरपश्चिमको प्रमुख मौलिक पर्वका रूपमा मनाइने गौरामा गौरा अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। पछिल्लो समय सुदूरपश्चिमबाहेक काठमाडौं तथा विदेशमा रहेका सुदूरपश्चिमेलीहरूले समेत विभिन्न कार्यक्रम गरी गौरा पर्व मनाउँदै आएका छन्।