भोटेकोशी बाढीबाट एनसेललाई ९ करोडभन्दा बढीको क्षति, २४ टावर पुनः सञ्चालनमा


काठमाडौं । भाद्र १० गते आएको विनाशकारी भोटेकोशी बाढीका कारण एनसेलको रसुवाको टिमुरेमा रहेको मोबाइल टावरसहित ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबरमा पूर्ण क्षति पुगेको छ। प्रारम्भिक आकलनअनुसार बाढीबाट एनसेललाई ९ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको कम्पनीले जनाएको छ।

विपद्पछि प्रभावित ग्राहकलाई सञ्चारमा सहजता होस् भन्ने उद्देश्यले एनसेलले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउँदै आएको छ। यसबाट ३ लाखभन्दा बढी ग्राहक लाभान्वित भइरहेका छन्। बाढी आउनुअघिको सात दिनमा प्रभावित क्षेत्रमा सक्रिय रहेका एनसेलका ग्राहकलाई निःशुल्क सेवाका लागि योग्य बनाइएको कम्पनीले जनाएको छ। सुरुमा तीन दिनका लागि उपलब्ध गराइएको सेवा पछि थप सात दिनका लागि विस्तार गरिएको थियो।

आइतबारसम्म ग्राहकले प्रयोग गरेको निःशुल्क भ्वाइस, डेटा र एसएमएसको मूल्य १ करोड रुपैयाँभन्दा बढी पुगेको एनसेलले जनाएको छ। बाढी तथा पहिरोका कारण नुवाकोट, रसुवा र धादिङमा एनसेलका २७ वटा साइट प्रभावित भएका थिए। तीमध्ये २४ वटा पुनः सञ्चालनमा आइसकेका छन्। बाँकी तीनमध्ये रसुवाको घट्टेखोला र टिमुरेको पूर्ण रूपमा क्षतिग्रस्त टावर तथा नुवाकोटको त्रिशूली–विदुरस्थित टावर र तिरु, रसुवाको साइट पुनः सञ्चालनका लागि प्राविधिक टोली फिल्डमा खटिएको कम्पनीले जनाएको छ।

यसैगरी, ब्यालेन्स टपअप नगरेका कारण एकतर्फी सेवा रोकिएका वा आउटगोइङ र इनकमिङ दुवै सेवा बन्द रहेका २५ हजारभन्दा बढी सिम पुनः सक्रिय गरिएको एनसेलले जनाएको छ। ती ग्राहकले पनि निःशुल्क सेवाको सुविधा पाएका छन्। एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँगको समन्वयमा जनचेतनामूलक कल टोन र एसएमएससमेत पठाइरहेको छ। उद्धार कोषमा रकम पठाउनुअघि खाता, क्यूआर वा लिंक आधिकारिक भए–नभएको सुनिश्चित गर्न तथा सामाजिक सञ्जालमा विभत्स र हृदयविदारक फोटो–भिडियो नपोस्ट गर्न कम्पनीले आग्रह गरेको छ।