काठमाडौँ । रसुवा बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिनसक्ने भन्दै चिकित्सकले समयमै सावधानी अपनाउन आग्रह गरेका छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. अमित गौलीका अनुसार दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला तथा अन्य पेटसम्बन्धी रोग बढ्न सक्छन्। घाउचोटमा संक्रमण तथा श्वासप्रश्वाससम्बन्धी समस्या देखिनसक्ने भएकाले विशेष सावधानी आवश्यक रहेको उनको भनाइ छ।
दीर्घरोगी, बालबालिका तथा मानसिक तनावमा रहेका बाढी प्रभावितको स्वास्थ्यमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्। जथाभावी एन्टिबायोटिक प्रयोग नगरी स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न पनि आग्रह गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल आधारभूत स्वास्थ्य सेवा पुर्याउन संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको चिकित्सकले बताएका छन्।
भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले उद्धारसँगै बेपत्ता भएकाको खोजी कार्य जारी राखेका छन्।



















प्रतिक्रिया