भोटेकोशी पीडितलाई बीमा कम्पनीको राहत


काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षतिको बीमा दाबीमा बीमा कम्पनीहरूले प्रभावित बीमितलाई अग्रिम भुक्तानी दिने भएका छन्।

जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले पुनर्निर्माणका लागि आवश्यक नगद प्रवाह सहज बनाउन अग्रिम रकम दिने निर्णय गरिएको हो।

अर्थ मन्त्रालय, नेपाल बीमा प्राधिकरण, पुनर्बीमा कम्पनी, बीमा कम्पनी र सर्भेयरबीच भएको छलफलपछि यस्तो सहमति भएको अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालले जानकारी दिए।

भोटेकोशी बाढीबाट भएको बीमा दाबी तथा भुक्तानीको दैनिक अनुगमन गर्न बीमा प्राधिकरणमा विशेष कार्यदल गठन गरिने भएको छ। कार्यदलले दाबी भुक्तानीको प्रगति अनुगमन गर्नुका साथै पुनर्बीमा रकम प्राप्ति र बीमा कम्पनीको तरलता व्यवस्थापनमा समन्वय गर्नेछ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक क्षतिको दाबीमा अनावश्यक कागजी प्रक्रियाका कारण भुक्तानी ढिलाइ नगर्न निर्देशन दिएका छन्।

त्यस्तै, क्षति मूल्याङ्कनका लागि आवश्यकताअनुसार विदेशी विज्ञ सर्भेयरसमेत परिचालन गर्न सकिने र सर्भेयर स्वचालित रूपमा खटाउने व्यवस्था मिलाइने भएको छ।

प्रारम्भिक विवरणअनुसार भोटेकोशी क्षेत्रका करिब ९०० मेगावाट क्षमताका जलविद्युत् आयोजनामा करिब १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको लगानी प्रभावित भएको छ।