हाइसको ठक्करले १५ वर्षीया किशोरीको ज्यान गयो


धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–८ गप्कामा हाइसको ठक्करबाट १५ वर्षीया किशोरी स्वस्तिका न्यौपानेको मृत्यु भएको छ।

बिहीबार बिहान करिब ९ः३० बजे पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको विद्युतीय हाइसले बाटो काट्ने क्रममा न्यौपानेलाई ठक्कर दिएको थियो।

टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल हुँदै नेपालगन्ज लैजाने क्रममा टिकापुर अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले बिहान ११ः०७ बजे उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीय तथा मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए। प्रहरीले अवरोध हटाएर यातायात सञ्चालनमा ल्याएको छ।

दुर्घटनामा संलग्न हाइस र चालक कैलाली गोदावरी नगरपालिका–५ का ३० वर्षीय प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।