भोटेकोशी विपद्को १० औँ दिनमा कसरी सम्भव भयो जीवित उद्धार ?


काठमाडौँ । भोटेकोशी बाढीले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार गरिएको छ।

नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले सुरुङको मुखमा करिब २५ मिटर थुप्रिएको डेब्री हटाउँदै शुक्रबार सञ्जय साह र कबीर महर्जनलाई जीवितै बाहिर निकालेको हो।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धार टोलीले विस्फोटक पदार्थ प्रयोग गरी इन्ट्री प्वाइन्टसम्म पहुँच बनाएको थियो। सुरुङभित्र प्रवेश गरेपछि वाटर जेट प्रयोग गरी पानी बाहिर निकाल्दै उद्धारकर्मीले उभिएर काम गर्न नसक्ने अवस्थामा समेत खोस्रिएर उद्धार गरेका थिए।

आयोजनामा मर्मतको काम भइरहेका बेला बाढी आएपछि करिब ४६ जना सुरुङभित्र फसेको आकलन गरिएको छ। उद्धार अभियानमा सेना, सशस्त्र प्रहरी र आयोजनाका इन्जिनियरसहित ९० भन्दा बढी जनशक्ति खटिएको थियो।