काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनालाई राजनीतिक विवादमा तान्न नहुने बताएका छन्। शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै उनले सेना मुलुकको विश्वासिलो र गरिमामय संस्था भएकाले निष्कलङ्कित रहनुपर्ने बताए।
ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम, पोशाक र आर्थिक स्रोतबारे प्रश्न उठाउँदै यसको परिचय र उद्देश्यबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।
उनले समूहले प्रयोग गर्ने सेनाजस्तै देखिने पोशाक, बुट तथा परिचालन खर्चको स्रोतसमेत प्रश्न गरेका छन्। ठूलो सङ्ख्यामा रहेको दाबी गरिएको समूह कसरी गठन भयो र कसरी सञ्चालन भइरहेको छ भन्नेबारे रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरीले जनतालाई जानकारी दिनुपर्ने ओलीको भनाइ छ।
ओलीले अहिलेको प्राथमिकता भने उद्धार, राहत र पुनःस्थापना हुनुपर्ने बताए। एमालेले बाढीपहिरो प्रभावितलाई प्रत्यक्ष राहत पुर्याउने अभियान सञ्चालन गरिरहेको जानकारी दिँदै उनले विपद्को समयमा कृत्रिम तस्बिर बनाएर प्रचार गर्नेभन्दा पीडितको सेवामा केन्द्रित हुन आग्रह गरे।



















प्रतिक्रिया