नेपालीलाई क्यासिनोमा जुवा खेलाउने ८ जना प्रहरीको नियन्त्रणमा


काठमाडौँ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोलडेन फिङ्गर गेमिङ जोन प्रालि क्यासिनोमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने तथा खेल्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले क्यासिनोमा छापा मारेको थियो ।

प्रहरीले जुवा खेलिरहेको अवस्थामा पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज–११ का ३९ वर्षीय ओमप्रकाश बैठा र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेललाई नियन्त्रणमा लिएको हो ।

यस्तै, नेपालीलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न चार कर्मचारीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१४ का २८ वर्षीय विजयकुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह र वीरगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन् ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।