काठमाडौँ । इन्डोनेसियामा अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि निस्किएको खरानी हवाई क्षेत्रमा फैलिएसँगै जकार्ताको सोएकार्नो–हत्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने २०९ वटा उडान स्थगित भएका छन्।
उडान रोकिँदा २२ हजारभन्दा बढी यात्रु प्रभावित भएका छन्। सिंगापुरसहित दोहा, सिड्नी र क्वालालम्पुरतर्फका अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित भएको इन्डोनेसियाको यातायात मन्त्रालयले जनाएको छ।
ज्वालामुखीय खरानी विमानको इन्जिन तथा महत्वपूर्ण प्रणालीमा प्रवेश गर्न सक्ने जोखिमका कारण सुरक्षाका लागि उडान रोकिएको अधिकारीहरूले बताएका छन्।
अनाक क्राकाटाउमा शुक्रबार रातिदेखि गतिविधि बढेको थियो भने आइतबार बिहान थप दुईपटक विस्फोट भएको जनाइएको छ। खरानीका कारण स्वास्थ्यमा असर पर्न सक्ने भन्दै प्रभावित क्षेत्रका बासिन्दालाई घरभित्र बस्न र मास्क प्रयोग गर्न आग्रह गरिएको छ।
हालको ज्वालामुखी गतिविधिका कारण सुनामी चेतावनी भने जारी गरिएको छैन। सन् २०१८ मा अनाक क्राकाटाउको ठूलो हिस्सा समुद्रमा खस्दा आएको सुनामीमा ४०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।



















प्रतिक्रिया