काठमाडौँ । भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। प्रारम्भिक अध्ययनअनुसार उच्च हिमाली क्षेत्रमा आएको हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण ल्हेन्दे खोलामा ठूलो परिमाणमा हिउँ, चट्टान र गेग्रान खस्दा बाढी आएको हो।
सरकारका अनुसार विपद्मा करिब ५ हजार जना बेपत्ता छन् भने ३५ देशका करिब ६ सय विदेशी नागरिक समेत प्रभावित भएका छन्। शनिबारसम्म १ हजार ३४४ शव बरामद भएका छन्।
बाढीबाट करिब १५ हजार घरपरिवारका ६० हजार नागरिक विस्थापित भएका छन्। ५५ किलोमिटर सडक, ३७ मोटरेबल पुल, ६८ झोलुङ्गे पुल, ४८ सरकारी कार्यालय तथा १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ। करिब ७८३ मेगावाट विद्युत् उत्पादन क्षमता प्रभावित भएको सरकारले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार आर्थिक क्षति ४ देखि ५ अर्ब अमेरिकी डलर बराबर रहेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा तापक्रम, हिमनदी र भू–भागमा तीव्र परिवर्तन भइरहेकाले यस्ता विपद्को जोखिम बढ्दै गएको बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी विपद्लाई जलवायु परिवर्तनसँग जोडिएको गम्भीर संकट भन्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्याय र क्षतिपूर्तिका लागि बलियो रूपमा प्रस्तुत हुनुपर्ने बताएका छन्।



















प्रतिक्रिया