काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवागढी नाकामा ठूलो क्षति पुर्याएको छ। बाढीले भन्सार कार्यालयसहित सडक र सयौँ कन्टेनर बगाउँदा नेपाल–चीन व्यापार प्रभावित भएको छ।
व्यवसायीका अनुसार दसैँ–तिहारका लागि चीनबाट ल्याइएका ५ देखि ७ अर्ब रुपैयाँ बराबरका सामान र कन्टेनर नष्ट भएका छन् भने कुल क्षति १० अर्ब रुपैयाँभन्दा बढी पुगेको प्रारम्भिक अनुमान छ।
बाढीले करिब ४ सयदेखि ५ सय कन्टेनर बगाएको र ७६ भन्दा बढी व्यवसायी प्रत्यक्ष प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। लत्ताकपडा, जुत्ताचप्पल, इलेक्ट्रोनिक्स, कस्मेटिक तथा फलफूललगायत चाडपर्व लक्षित सामान बगेका छन्।
रसुवागढी नाका बन्द भएपछि आयातकर्ताले तातोपानी नाका प्रयोग गर्नुपर्ने अवस्था आए पनि ढुवानी भाडा बढ्दा बजारमा सामानको अभाव र मूल्यवृद्धि हुने जोखिम बढेको व्यवसायीहरूको भनाइ छ।



















प्रतिक्रिया