अर्थतन्त्र पुनः गतिशील बनाउने अर्थमन्त्री वाग्लेको तयारी


काठमाडौँ । आर्थिक मन्दी र बाढीको असरले शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पाँच प्राथमिकता अघि सारेका छन्।

बीबीसीसँगको अन्तर्वार्तामा वाग्लेले बिजनेस रिकभरी प्याकेज, पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफएटीएफ ग्रे सूचीबाट बच्ने रणनीति र अन्तर्राष्ट्रिय स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको बताए।

बाढी प्रभावित व्यवसायीलाई राहत दिन बिजनेस रिकभरी प्याकेज पारित भइसकेको जनाउँदै उनले निजी क्षेत्रलाई प्रोत्साहन र लगानी विस्तारमार्फत अर्थतन्त्रमा नयाँ गति दिने योजना रहेको बताए।

यस्तै, पुँजी बजारलाई व्यवस्थित बनाउने तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आवश्यक सुधार तीव्र पारिएको उनको भनाइ छ। विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट स्रोत जुटाउने तयारीसमेत भइरहेको उनले बताए।

वाग्लेले चुनौतीपूर्ण अवस्था भए पनि सरकारी हस्तक्षेप र अन्तर्राष्ट्रिय सहयोगबाट अर्थतन्त्रलाई छिट्टै लयमा फर्काउने दाबी गरेका छन्।