प्रभावित क्षेत्रमा राहत र उद्धारलाई प्राथमिकता : मुख्यमन्त्री थापामगर


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाको काम तीव्र पारिएको बताएका छन्।

उनका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ पालिका बढी प्रभावित भएका छन्। बाढीपहिरोबाट ७ हजारभन्दा बढी मानिस प्रभावित हुनुका साथै ६ वटा जलविद्युत् आयोजना क्षतिग्रस्त भएका छन्।

प्रदेश सरकारले प्रभावित जिल्लामा स्वास्थ्यकर्मी परिचालन, अस्थायी सेल्टर निर्माण तथा अलपत्र परेका १ हजार ५ सयभन्दा बढीलाई निःशुल्क काठमाडौँ ल्याउने व्यवस्था गरेको उनले बताए। सडक खुलाउन नुवाकोट र रसुवातर्फ मेसिन परिचालन गरी वैकल्पिक मार्ग निर्माण भइरहेको छ।

प्रदेश विपद् व्यवस्थापन कोषबाट रसुवालाई १ करोड, नुवाकोटलाई १ करोड तथा धादिङ र चितवनलाई ५०–५० लाख रुपैयाँ राहत दिने निर्णय गरिएको मुख्यमन्त्री थापामगरले जानकारी दिए। बाढीमा ज्यान गुमाएकाको शव व्यवस्थापनका लागि प्रतिशव २५ हजार रुपैयाँ सहयोग गरिनेछ।

उनले विपत्तिको समयमा आरोप–प्रत्यारोपभन्दा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। “अहिले आरोप–प्रत्यारोप गर्ने समय होइन, पीडितको घाउमा मलहम लगाउनुपर्छ,” उनले भने।