बाढीपीडितको पीडामा विराटनगरको साथ, एक करोड सहयोग


विराटनगर । भोटेकोशी बाढीपीडितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ ।

महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिक कटौतीसँगै विपद् व्यवस्थापन कोषबाट रकम जुटाएको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सोमबार अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

महानगरका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ र बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षक–कर्मचारीको सेवा–सुविधा तथा पारिश्रमिक कटौतीबाट संकलन गरिएको हो ।

राहतका लागि मेयर नागेश कोइरालाले दुई महिना र उपमेयरले एक महिनाको सेवा–सुविधा दिएका छन् । वडाध्यक्षको सात दिन तथा कर्मचारी र शिक्षक–कर्मचारीको तहअनुसार तीनदेखि १० दिनसम्मको पारिश्रमिक कटौती गरिएको महानगरले जनाएको छ ।

मेयर कोइरालाले विपद्को पीडा कुनै भूगोलमा सीमित नहुने भन्दै संकटमा परेका नागरिकलाई सहयोग गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।