काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता सोडारीले आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
उनले एक वर्षअघि भ्रष्टाचार, कुशासन, दण्डहीनता, अपारदर्शिता, अवसरको अभाव र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध युवाहरू सडकमा उत्रिएको स्मरण गरेका छन् ।
सोडारीका अनुसार आन्दोलनले सत्ता परिवर्तन गराए पनि जेनजीले खोजेको वास्तविक परिवर्तन अझै हुन सकेको छैन । आन्दोलनको जगमा बनेको सरकार र जेनजीको भावना बोकेको नेतृत्व सत्तामा पुगे पनि शासनशैली, जवाफदेहिता र पारदर्शितामा अपेक्षित सुधार नदेखिएको उनको भनाइ छ ।
उनले सहिद परिवार र आन्दोलनका घाइतेहरूको माग अझै सम्बोधन हुन नसकेको तथा आन्दोलनसँग सम्बन्धित सम्झौता र प्रतिवेदनहरू पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
‘सत्ता बदलियो, सत्ताको अनुहार बदलियो, तर सत्ताको चरित्र बदलिएको छैन,’ सोडारीले भनेका छन् ।
उनले जेनजी आन्दोलन केवल सरकार परिवर्तनका लागि नभई देशको सोच, संस्कार, व्यवस्था र शासन प्रणाली परिवर्तनका लागि भएको उल्लेख गर्दै सहिदहरूको सपना पूरा नभएसम्म परिवर्तनको संघर्ष जारी राख्नुपर्ने बताएका छन् ।
उनको निष्कर्ष छ– ‘सत्ता बदल्नु पर्याप्त छैन, देश बदल्नुपर्छ । अनुहार बदल्नु पर्याप्त छैन, चरित्र बदल्नुपर्छ ।’



















प्रतिक्रिया