काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले जेनजी विद्रोहका क्रममा बनेको गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।
जेनजी शहीद दिवसका अवसरमा पार्टी संयोजक दुर्गा सोबले जारी गरेको वक्तव्यमा आयोगले सरकारलाई प्रतिवेदन बुझाइसक्दा पनि सार्वजनिक नगरिनु गम्भीर विषय भएको उल्लेख गरिएको छ। जनतालाई सत्य–तथ्य जान्ने अधिकार भएकाले प्रतिवेदन शीघ्र सार्वजनिक गर्न पार्टीले माग गरेको हो।
नेसपाले जेनजी विद्रोहपछि तत्कालीन सरकार र जेनजी प्रतिनिधिबीच भएका सहमति तथा प्रतिबद्धता कार्यान्वयन गरी त्यसको प्रगति सार्वजनिक गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।
पार्टीले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, जवाफदेहिता, रोजगारी र राजनीतिक पुस्तान्तरणका सवालमा सरकारले ठोस परिणाम देखाउनुपर्ने जनाएको छ।
‘सरकार वा नेतृत्व परिवर्तन मात्रै जेनजी विद्रोहको उद्देश्य होइन, राज्य सञ्चालनको शैली नै बदलिनुपर्छ,’ नेसपाले भनेको छ। शहीद परिवार र घाइतेको सम्मान गर्दै पार्टीले जेनजी शहीद दिवसलाई सत्य, न्याय र राजनीतिक रूपान्तरणको राष्ट्रिय संकल्पको दिन बनाउन आह्वान गरेको छ।




















प्रतिक्रिया