बाढी प्रभावित माथिल्लो त्रिशूली–१ का कामदार परिवारलाई राहत दिन सुरु


काठमाडौं । २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत कम्पनीहरूले बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारलाई तत्काल आर्थिक राहत र क्षतिपूर्ति दिन थालेका छन्।

आयोजना प्रवर्द्धक एनडब्लुइडिसी, मुख्य ठेकेदार डुसान इर्नबिलिटी तथा उपठेकेदार एन्ड्रिट्ज र पावर चाइनाले प्रभावित परिवारलाई आर्थिक सहयोगसँगै मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइरहेका छन्।

घाइते कामदारको उपचारमा सहयोग जारी राख्दै कम्पनीहरूले बेपत्ता तथा प्रभावित कामदारका परिवारका लागि थप क्षतिपूर्ति प्याकेज तयार गर्ने प्रक्रिया अघि बढाएका छन्। खोज तथा उद्धारलाई तीव्र बनाउन थप टोली र ठूला उपकरण परिचालनको तयारीसमेत भइरहेको छ।