काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकामा सुख, समृद्धि, सुस्वास्थ्य, सफलता, बालमैत्री वातावरण र उत्कृष्ट भविष्यको शुभकामना व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्री शाहले बालअधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनमा निरन्तर क्रियाशील अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चारजगत् तथा सम्पूर्ण सरोकारवालाप्रति सम्मान व्यक्त गर्नुभएको छ।
यस वर्ष ‘बालापनको रक्षाः भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। उक्त नाराले बालबालिकाको वर्तमानलाई सुरक्षित र अधिकारसम्पन्न बनाएर मात्रै राष्ट्रको समृद्ध भविष्य निर्माण गर्न सकिने तथ्यलाई जोड दिएको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ।
नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरी भेदभावरहितता, बालबालिकाको सर्वोत्तम हित, जीवन, बाँच्न र विकास पाउने अधिकार तथा विचार व्यक्त गर्ने अधिकारमा आधारित सिद्धान्तप्रति अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले स्मरण गराउनुभएको छ।
यी मूल्य–मान्यतालाई नेपालको संविधानको धारा ३९ अन्तर्गत बालबालिकाको हक, राष्ट्रिय बालबालिका नीति, २०८० तथा बालबालिकासम्बन्धी ऐन, २०७५ ले मौलिक हक तथा कानुनी अधिकारका रूपमा सुनिश्चित गरेको उहाँले बताउनुभएको छ।
प्रधानमन्त्री शाहले अबको मुख्य प्राथमिकता संवैधानिक तथा कानुनी रूपमा सुनिश्चित गरिएका अधिकारलाई प्रत्येक बालबालिकाले आफ्नो दैनिक जीवनमा वास्तविक रूपमा अनुभूति गर्ने अवस्था सिर्जना गर्नु रहेको बताउनुभएको छ।
यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उहाँको भनाइ छ।
सन्देशमा सङ्घले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार सुदृढ बनाउने, प्रदेशले समन्वय र सेवाको विस्तार गर्ने तथा स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह र बालमैत्री वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ।
तीनै तहका प्रयासलाई एउटै परिणाममुखी दिशामा अघि बढाएर प्रत्येक बालबालिकाको अधिकार, सुरक्षा र विकास सुनिश्चित गर्नुपर्ने प्रधानमन्त्री शाहले जोड दिनुभएको छ।




















प्रतिक्रिया