वीरगन्ज – वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय वासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला गरेको हो।
विशेष अदालतबाट सफाइ पाएसँगै सिंहको मेयर पदको निलम्बन फुकुवा भएको छ। भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्ति स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्थाअनुसार सिंह गत जेठ २५ गतेदेखि निलम्बनमा थिए।
अरूकी छोरीलाई आफ्नै छोरी बनाएर नागरिकता दिलाएको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते मेयर सिंहविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी झूटो विवरणका आधारमा नागरिकता दिलाएको अख्तियारको आरोप थियो।
तर सिंहले भने रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।
सिंहसहित सबै प्रतिवादीले पाए सफाइ
अख्तियारले मेयर सिंहसहित वीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध मुद्दा दायर गरेको थियो।
विशेष अदालतले मुद्दामा रहेका सबै प्रतिवादीलाई सफाइ दिएको हो।
फैसलासँगै केही समयदेखि निलम्बनमा रहेका सिंहलाई पुनः वीरगन्ज महानगरपालिकाको मेयरका रूपमा काम गर्ने बाटो खुलेको छ।




















प्रतिक्रिया