सर्वोच्चको मुद्दा फाँटमा आगलागी, के–के क्षति भयो?


काठमाडौं । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ। आगलागीबाट मुद्दा फाँटमा रहेका टेबल, कुर्सी तथा तीन वटा कम्प्युटरमा क्षति पुगेको छ।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कार्यालय बन्द रहेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको हो। ढोका बन्द गरेर कार्यालय छाडिएको हुँदा आगलागीबारे तत्काल जानकारी हुन नसकेको उनले बताए।

‘गएरातिको समयमा विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल फाइल सुरक्षित रहेको छ,’ प्रवक्ता कोइरालाले भने, ‘ढोका बन्द गरेको अवस्थामा आगलागी भएकाले विद्युत् सर्ट भएको कुरा कार्यालय खोलेपछि मात्रै जानकारी भयो।’

आगलागीबाट मुद्दा फाँटमा रहेका केही भौतिक सामग्री तथा विद्युतीय उपकरणमा क्षति पुगे पनि महत्वपूर्ण न्यायिक कागजात तथा मिसिल सुरक्षित रहेको अदालतले जनाएको छ।

यसअघि २०८२ भदौ २४ गते भएको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन तथा निर्माणाधीन नयाँ भवनबाट आफ्नो सेवा सञ्चालन गर्दै आएको छ। हाल निर्माणाधीन नयाँ भवनको एक भागबाट इजलास र प्रशासनिक काम सञ्चालन भइरहेको छ।

कार्यालय बन्द रहेको समयमा भएको आगलागी विद्युत् सर्टका कारण भएको प्रारम्भिक जानकारी भए पनि घटनाबारे थप विवरण भने आउन बाँकी छ।