भोटेकोशी बाढीबाट अभिभावक गुमाएका १७० बालबालिका कास्कीका बालगृहले राख्ने बालगृह


पोखरा । भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकालाई कास्कीका बालगृहहरूले दीर्घकालीन संरक्षण दिने भएका छन्। कास्कीका २५ वटा बालगृहले राज्यले आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिम्मेवारी दिए १७० बालबालिकालाई संरक्षण गर्न तयार रहेको जनाएका छन्।

बालगृह सञ्जालका अनुसार तत्काल १०८ बालबालिकालाई राख्न सकिने र आकस्मिक अवस्थाका लागि थप ६२ जनालाई समेत व्यवस्थापन गर्न सकिनेछ। बालगृहका लागि आवश्यक स्थान, बजेट र सहयोगी दाताको प्रतिबद्धता रहेको सञ्जालले जनाएको छ।

सञ्जालकी अध्यक्ष शोभा पहारीले अभिभावकविहीन बालबालिकालाई सीधै बालगृहमा लैजानुभन्दा पहिले पहिचान, आफन्तको खोजी र सम्भव भएसम्म परिवारमै पुनर्मिलन गर्नुपर्ने बताइन्। परिवारमा पुनःस्थापना सम्भव नभए मात्रै कानुनी प्रक्रिया पूरा गरेर बालगृहमा राख्नुपर्ने उनको भनाइ छ।

भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा ठूलो क्षति पुगेको थियो। प्रारम्भिक तथ्यांकअनुसार प्रभावित क्षेत्रमा १ सय ९७ बालबालिका अभिभावकविहीन भएका छन्।