राजदूत नियुक्तिमा ढिलाइप्रति रास्वपा सांसद न्यौपानेको प्रश्न : कूटनीति बलियो बनाउन सरकार किन मौन ?


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले लामो समयदेखि विभिन्न मुलुकमा राजदूतको पद रिक्त रहेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद न्यौपानेले राजदूतको पद रिक्त राखेर नेपालको कूटनीति बलियो बनाउन नसकिने बताए ।

उनले प्रश्न गरे, ‘राजदूतको कुर्सी खाली राखेर कूटनीति बलियो हुँदैन । आखिर सरकारले अहिलेसम्म राजदूत नियुक्ति किन गर्न सकेको छैन ?’

जनताले सरकारलाई विश्वास गरेर जिम्मेवारी दिएको उल्लेख गर्दै उनले सुशासन र प्रभावकारी कार्यसम्पादनको अपेक्षा पूरा गर्नुपर्ने बताए ।

सांसद न्यौपानेले योग्यता, क्षमता र विज्ञता भएका नेपाली नागरिकको कमी नभए पनि नियुक्ति प्रक्रियामा भइरहेको ढिलाइबारे प्रश्न गरे । ‘नियुक्ति प्रक्रियामा ढिलाइ किन ? आखिर रोकियो कहाँ र कसले रोक्यो ?’ उनले भने ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जान लागेको सन्दर्भ उल्लेख गर्दै उनले अमेरिकाजस्तो महत्वपूर्ण मुलुकमा नेपालको राजदूत नहुनु गम्भीर विषय भएको बताए ।

उनले सरकारले रिक्त रहेका कूटनीतिक नियोगमा अविलम्ब राजदूत नियुक्त गर्नुपर्ने माग गरे ।

सांसद न्यौपानेले नेपालको परराष्ट्र नीतिलाई कर्मचारीको भरमा मात्र सञ्चालन नगर्न सरकारलाई आग्रह गर्दै कूटनीतिक नियुक्ति र परराष्ट्र नीतिलाई प्राथमिकतामा राखेर तत्काल आवश्यक प्रक्रिया अघि बढाउन सुझाव दिए।