विपद् व्यवस्थापनका लागि रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक, दुई महत्वपूर्ण निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा केन्द्रित सर्वदलीय बैठक सम्पन्न भएको छ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका थिए। सरकारका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सहभागी थिए।

बैठकले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि दुई महत्वपूर्ण निर्णय गरेको छ।

पहिलो, उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरिएको छ। तीनै तहका सरकार, संसद्, राज्यका सम्बन्धित निकाय, राजनीतिक दल तथा सरोकारवालाबीच नीतिगत र कार्यान्वयनगत समन्वय गर्न संयन्त्रलाई निरन्तरता दिने निर्णय भएको हो। उक्त संयन्त्रको संयोजकको जिम्मेवारी रास्वपा सभापति रवि लामिछानेले सम्हाल्नेछन्। अन्य सदस्यमा सहभागी दलका शीर्ष तथा महत्वपूर्ण नेतृत्वको प्रतिनिधित्व रहनेछ।

दोस्रो, सर्वदलीय संसदीय विशेष समिति गठनका लागि पहल गर्ने निर्णय भएको छ। भोटेकोशी विपद्बाट सिकेको पाठलाई आधार बनाउँदै भविष्यमा हुने विपद्बाट मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारलाई नीतिगत मार्गचित्र र रणनीतिक कार्यढाँचा प्रदान गर्ने उद्देश्यले एक साताभित्र समिति गठनका लागि पहल गरिने भएको छ।

समितिले विपद्पछिको दिगो पूर्वाधार पुनर्निर्माण, पूर्वतयारी, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा जलवायु कूटनीतिसम्बन्धी दीर्घकालीन कार्यदिशामा सरकार, संसद् र सरोकारवाला निकायबीच समन्वय गर्नेछ।

त्यस्तै, विपद् व्यवस्थापनसम्बन्धी विद्यमान कानुनको समीक्षा गरी आवश्यक नयाँ कानुन निर्माणका लागि संसद्मा पहल गर्ने जिम्मेवारीसमेत समितिलाई दिने निर्णय गरिएको छ।

सम्पूर्ण प्रक्रिया अघि बढाउन सहभागी सबै राजनीतिक दलका तर्फबाट सभामुख तथा संघीय संसद्समक्ष आवश्यक व्यवस्थापन र पहलका लागि अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।