नेपालले पाउनुपर्ने जलवायु न्याय र वित्तीय सहयोग सहज भएन : सांसद हमाल


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले जलवायु न्याय र वित्तीय सहयोगका लागि नेपालले जलवायु कूटनीतिलाई थप सशक्त बनाउनुपर्ने बताएका छन्।

सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहको सहभागितालाई जलवायु कूटनीतिका दृष्टिले महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।

हमालले नेपालले भोगिरहेको विपद् र जलवायुजन्य जोखिमलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए। जलवायु परिवर्तनको असर कम गर्न कम उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले बढी भार व्यहोर्नुपरेको विषयलाई तथ्यसहित अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने उनको भनाइ छ।

नेपालले पाउनुपर्ने जलवायु न्याय, क्षति तथा नोक्सानी र जलवायु वित्त अझै सहज रूपमा प्राप्त हुन नसकेको उल्लेख गर्दै हमालले अन्तर्राष्ट्रिय वार्ता र कूटनीतिक पहललाई प्रभावकारी बनाउनुपर्ने बताए।