त्रिशूलीमा खसेका बस र यात्रुको खोजी तीव्र बनाउन सरकारलाई आग्रह


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र बेपत्ता यात्रुको खोजी कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले पीडित परिवारबाट आफन्तको शव घरभित्र रहेको भन्दै उद्धारका लागि फोन आइरहेको बताए। नदीमा मात्रै सीमित नराखी मठमन्दिर, सार्वजनिक कार्यालय तथा भवन आसपासका क्षेत्रमा समेत खोजी तथा उत्खनन गर्न उनले आग्रह गरे।

खोजी तथा उद्धार कार्य लम्बिँदा नागरिकमा त्रास बढ्ने भन्दै श्रेष्ठले उपलब्ध सबै स्रोत–साधन र संयन्त्र परिचालन गरी उद्धार कार्य छिटो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए।