महानगरभित्रका सम्पूर्ण जग्गाको वर्गीकरण हुने, २ लाख १० हजार भवन डिजिटल नक्सामा


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सम्पूर्ण जग्गाको कित्तागत विवरण तयार गरी भूउपयोग वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ।

महानगरले जग्गाको वास्तविक अवस्था, उपयोग र स्वामित्वसम्बन्धी विवरणलाई जीआइएस प्रणालीमा एकीकृत गर्ने निर्णय गरेको छ। यसका लागि अस्थायी रूपमा ‘भू–सूचना तथा भूमि व्यवस्थापन एकाइ’ गठन गरी वर्गीकरण, नक्साङ्कन र जियोडाटाबेस निर्माणको काम अघि बढाइनेछ।

महानगरले हालसम्म २ लाख १० हजार ९७६ भवनको डिजिटल नक्साङ्कन गरिसकेको छ। तीमध्ये २५ हजार १९ भवनको प्रमाणीकरणसमेत भएको छ। यस्तै, १२ हजार ८११ सडकको नक्साङ्कन सम्पन्न भएको महानगरले जनाएको छ।

आगामी दिनमा ३२ वटै वडाबाट भूसेवा सञ्चालन गरी नापी तथा मालपोत सेवा स्थानीय तहमै उपलब्ध गराउने महानगरको लक्ष्य छ। जग्गाको अन्तिम वर्गीकरणपछि कित्तागत विवरण वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गरिनेछ।