नेपालको राजनीति र नेतृत्वमा विदेशी प्रभावबारे श्रम संस्कृति पार्टीको प्रश्न


काठमाडौँ । श्रम संस्कृति पार्टीले ‘द ग्रे जोन’को रिपोर्ट तथा सार्वजनिक कागजातलाई आधार बनाउँदै नेपालको राजनीति र नेतृत्व विकासका क्षेत्रमा विदेशी प्रभावबारे प्रश्न उठाएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर पार्टीका प्रमुख सचेतक आरेन राईले विदेशी सहयोगमा सञ्चालित राजनीतिक तथा नेतृत्व विकासका कार्यक्रमबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने बताए । उनले यस्ता गतिविधिले नेपालको सार्वभौमसत्ता र स्वाधीनतासँग सम्बन्धित गम्भीर प्रश्न उठाएको बताए ।

राईले नेपालमा विदेशी सरकार वा संस्थाको सहयोगमा सञ्चालित राजनीतिक, नेतृत्व विकास तथा युवा परिचालनसम्बन्धी कार्यक्रमको विवरण, बजेट र उद्देश्य सार्वजनिक गर्न माग गरे । त्यस्ता कार्यक्रमबाट संस्था वा व्यक्तिले प्राप्त गरेको तालिम तथा आर्थिक सहयोगको विवरण संसद्मा पेस गर्न र विदेशी सहयोग राजनीतिक दल, नेतृत्व निर्माण वा सत्ता परिवर्तनमा प्रयोग भए–नभएको स्वतन्त्र छानबिन गर्नुपर्ने उनको भनाइ थियो ।

उनले सामाजिक सञ्जालमा ‘द ग्रे जोन’को विषयलाई लिएर भइरहेको बहसमा राजनीतिक प्रतिशोध देखिन नहुने बताए । नेपालको राजनीतिक भविष्य नेपाली जनताको मत, संविधान र राष्ट्रिय स्वार्थबाट निर्देशित हुनुपर्ने उल्लेख गर्दै राईले मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध राख्ने तर नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार नेपाली जनतामै रहने बताए ।