अख्तियारमा उजुरीको चाङ, भूमि मन्त्रालय सबैभन्दा अगाडि


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/०८३ मा केन्द्र सरकारका मन्त्रालयसँग सम्बन्धित १५ हजार ५१२ उजुरी परेका छन् । तीमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित ३ हजार ३६ उजुरी रहेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित १ हजार ९८३, गृह मन्त्रालयसँग १ हजार ७५७, पूर्वाधार विकास मन्त्रालयसँग १ हजार ९५, अर्थ मन्त्रालयसँग ८७७ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग ८१६ उजुरी परेका छन् ।

यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग ६५७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसँग ५६३, कृषि, वन तथा पर्यावरणसँग ५४८ र सूचना तथा सञ्चार मन्त्रालयसँग ३९९ उजुरी दर्ता भएका छन् । अन्य मन्त्रालयसँग सम्बन्धित ३ हजार ७८१ उजुरी परेको आयोगले जनाएको छ ।

आयोगले बिहीबार राष्ट्रपति समक्ष ३६औँ वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रतिवेदन ४६९ पृष्ठको रहेको जनाइएको छ ।