सनाखत हुन नसकेका शवको डीएनए परीक्षण गर्न सांसद पोखरेलको ध्यानाकर्षण


काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले रसुवा बाढीमा परी सनाखत हुन नसकेका मृतकको डीएनए परीक्षण तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पोखरेलले चीन, भारत, कोरियालगायत मुलुकबाट आएका प्रविधिसहितका प्राविधिक टोलीले डीएनए परीक्षण गरिरहेको बताए । उनले परीक्षणको काम पूरा नभएसम्म ती प्राविधिक टोलीलाई नेपालमै रहने व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।

पोखरेलले सम्भव भएसम्म थप मुलुकबाट समेत प्राविधिक सहयोग जुटाएर डीएनए परीक्षण र शव व्यवस्थापनको काम छिटो सम्पन्न गर्नुपर्ने बताए । दसैँको पूर्वसन्ध्यामा शोकमा रहेका परिवारलाई राहत पुग्ने गरी सनाखत र शव व्यवस्थापनको काम तत्काल टुंग्याउनुपर्ने उनको माग छ ।